९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

आइपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

८ कात्तिक, काठमाडाैं । हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेकाे हाे ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ । त्यसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ । उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन बन्द छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते हुनेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : October 25, 2026 at 5:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/