कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
२६ असोज, काठमाडाैँ । हिम पावर हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर १० गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : October 12, 2026 at 9:27 am





