दुबईमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान, आफ्टर–सेल्स सेवामा विश्वस्तरीय पहिचान
२० असोज, काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टिभिएस मोटरको अन्तर्राष्ट्रिय आफ्टर–सेल्स सम्मेलनमा दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। यूएईको दुबईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा आयोजित सम्मेलनमा विभिन्न देशका टिभिएस वितरकहरूको सहभागिता थियो। सोही सम्मेलनमा आफ्टर–सेल्स सेवामा उत्कृष्ट प्रदर्शन गरेबापत जगदम्बा मोटर्सलाई दुई विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सले प्राप्त गरेको ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ सम्मानलाई कम्पनीले विशेष उपलब्धिका रूपमा लिएको छ। उक्त सम्मानले वर्कसपको गुणस्तर, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहित नेपालको समग्र टिभिएस सर्भिस नेटवर्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार विभिन्न मुलुकका वितरकबीच प्रतिस्पर्धा हुने विश्वव्यापी मञ्चमा प्राप्त सम्मानले नेपालमा टिभिएस प्रयोगकर्ताले पाउँदै आएको आफ्टर–सेल्स सेवाको स्तरलाई समेत अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ। जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले सम्मान ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम भएको बताइन्।

‘यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका ग्राहक र त्यो विश्वास कायम राख्न प्रत्येक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो,’ अग्रवालले भनिन्, ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स अवार्ड प्राप्त हुनु नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो।’
उनले टिभिएस सवारीसाधन प्रयोग गर्ने ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो आफ्टर–सेल्स सेवा उपलब्ध गराउने प्रतिबद्धता अझ मजबुत भएको बताइन्। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आएको छ। कम्पनीले देशभर फैलिएको नेटवर्कमार्फत सवारी बिक्रीसँगै सर्भिस र वास्तविक स्पेयर पार्ट्ससमेत उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा तथा देशव्यापी सर्भिस नेटवर्कमार्फत आफ्टर–सेल्स सेवाको गुणस्तरलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ। जगदम्बा मोटर्सको माउ कम्पनी शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक समूह हो। समूहअन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका ४० वटा कम्पनी रहेको र ती कम्पनीमार्फत १५ हजारभन्दा बढीलाई रोजगारी प्रदान हुँदै आएको जनाइएको छ।
प्रकाशित मिति : October 6, 2026 at 2:07 pm






