यी हुन् इ-बिडिङ प्रकरणमा पक्राउ परेका आठ जना निर्माण व्यवसायी
१९ असोज, काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (इ-बिडिङ) ह्याक गरेको प्रकरणमा प्रहरीले थप आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला राेशि गाउँपालिका वडा नं २ बस्ने ३८ बर्षका भक्त बहादुर लामा, भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ५ गोलमडी बस्ने ४९ बर्षका नारायण प्रसाद सितिखु, सिन्धुली जिल्ला दुधौली नगरपालिका २ भलुवाई बस्ने ३५ बर्ष का ऋतु बहादुर कार्की, काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ खनालथोक बस्ने ४० बर्षका विष्णु मान लामा, भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका ७ सानोठिमी बस्ने ३९ बर्ष का धुब्र खनाल, दाङ जिल्ला शान्तिनगर गाउँपालिका ३ शान्तिनगर बस्ने ६५ बर्षका किरण मल्ल, गंगा बहादुर सिलवाल र स्वदेश पाेखरेल रहेका छन् ।

पक्राउ परेका सबै जना निर्माण व्यवसायीहरू हुन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार इ-बिडिङ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी डकुमेन्ट परिवर्तन गर्ने कार्य भएको सम्बन्धमा प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो।
अनुसन्धानबाट संलग्नता खुलेका उनीहरूलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्यूरोले जनाएको छ। उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट असोज १६ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित मिति : October 5, 2026 at 5:52 pm






