त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत
१८ असोज, नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नुवाकोटमा जारी महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदीश्वरनरसिंह केसी समूहलाई धक्का लागेको छ। १० जना निर्वाचित हुने समूहमा उम्मेदवार भएका केसी दाजुभाइ १२ र १३ नम्बरमा परेका छन । ज्वाइँ समेत रहेका कांग्रेस सभापति गगन थापाको सिफारिसमा समानुपातिक सांसद भएका केसी पार्टी भित्रकै निर्वाचनमा इतिहासकै कमजोर देखिएका हुन ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट भएको महाधिवेशन प्रतिनिधि निर्वाचनमा केसी दाजुभाइ निकट उम्मेदवारहरू कमजोर देखिएपछि कांग्रेसभित्र त्यसलाई उनीहरूप्रतिको कार्यकर्ता असन्तुष्टिको संकेतका रूपमा व्याख्या गर्न थालिएको छ । उक्त क्षेत्रमा केसी समूहको प्रभाव रहे पनि निर्वाचन परिणामले भने फरक संकेत गरेको कांग्रेसका स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
क्षेत्र नम्बर २ ‘ख’ त्रिशूली नदीपारिको भूगोल हो। यस क्षेत्रमा तारकेश्वर, मेघाङ र किस्पाङ गाउँपालिकाका साथै विदुर नगरपालिकाको केही भूभाग पर्छ।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार महाधिवेशन प्रतिनिधि निर्वाचनमा केसी दाजुभाइ पक्ष पूर्ण रूपमा कमजोर देखिएको छ। प्रदेशतर्फको अर्को निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले त्यहाँको परिणाम आउन बाँकी छ। तर मतगणना स्थलबाट प्राप्त जानकारीअनुसार त्यसमा पनि केसी पक्ष पछाडि रहेको दाबी गरिएको छ।
महाधिवेशन प्रतिनिधि निर्वाचनमै पराजयको संकेत देखिएपछि मतगणना स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा पत्रसमेत सार्वजनिक गरिएको थियो। तर कांग्रेसका स्थानीय नेताहरूले उक्त पत्र आधिकारिक नभएको र नक्कली पत्र बनाएर सामाजिक सञ्जालमा प्रचार गरिएको दाबी गरेका छन्।
अर्जुननरसिंह केसीका सुपुत्र ओमश्रीनरसिंह केसीले फेसबुकमा स्टेटस लेख्दै मतगणना स्थगित भएको बताएका छन । तर मतगणना कतिखेर पनि स्थागित नभएको कांग्रेस नेत पवित्रा पुडासैनीले बताएकी छिन ।

क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिको नेतृत्व चयनलाई लिएर समेत कांग्रेसभित्र दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ । केसी समूहले मेघाङ गाउँपालिकाको अध्यक्ष आशा तामाङलाई क्षेत्रीय सभापतिका रूपमा अघि सारेको छ । त्यसको विपक्षमा बहादुरसिंह लामा समूहले सिंहराज लामालाई अघि सारेको छ।
क्षेत्रीय सभापतिको निर्वाचन सर्वसम्मत गराउने प्रयास भए पनि उम्मेदवार छनोटमै दुई समूहबीच सहमति जुट्न नसकेपछि प्रतिस्पर्धाको अवस्था बनेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।
उद्घाटन सकियो, नुवाकोटमा प्रतिनिधि छनोट अझै बाँकी
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भइसकेको छ। तर नुवाकोटमा भने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अझै पूरा हुन सकेको छैन। नुवाकोटका विभिन्न निर्वाचन क्षेत्रमा मतदान तथा मतगणना जारी रहेकाले महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक हुन बाँकी छ। कांग्रेसका स्थानीय नेताहरूका अनुसार बाँकी मतगणना रातभरमा सम्पन्न गर्ने तयारी छ।
नुवाकोटको प्रतिनिधि छनोटको अन्तिम परिणामले जिल्लामा विगतदेखि प्रभावशाली मानिँदै आएको कांग्रेसभित्रका विभिन्न समूहको शक्ति सन्तुलनसमेत स्पष्ट पार्ने देखिएको छ। क्षेत्र नम्बर १ बाट केसी परिपारका सदस्य कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डा केदारनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भैसकेका छन ।

प्रकाशित मिति : October 4, 2026 at 11:26 pm






