१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

बालेनको ‘नयाँ पार्टी’ टिप्पणीले कांग्रेस विवादमा नयाँ तरंग

१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै गरेको एक वाक्यको टिप्पणीले कांग्रेसभित्रको विभाजन र वैधानिकताको बहसलाई फेरि सतहमा ल्याएको छ।

प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

काठमाडौंको खुलामञ्चमा आइतबार कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन भएको थियो । उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै संसद् खुला र जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखेका थिए । त्यसको केही घण्टापछि प्रधानमन्त्री शाहले ‘नयाँ पार्टी’ भन्दै व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन्।

बालेनको स्टाटसमा प्रयोग भएको ‘नयाँ पार्टी’ शब्दलाई कांग्रेसको पछिल्लो राजनीतिक अवस्थासँग जोडेर अर्थ लगाउन थालिएको छ । विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएको कांग्रेसलाई संकेत गर्दै प्रधानमन्त्रीले ‘नयाँ पार्टी’ भनेको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।

यसको अर्को पाटो भने कांग्रेसको नेतृत्व र वैधानिकतासँग जोडिएको विवाद हो । विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आएको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेसबीचको राजनीतिक विवाद अदालतसम्म पुगेको अवस्थामा प्रधानमन्त्रीको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा गगन थापा वा शेरबहादुर देउवाको नाम उल्लेख गरेका छैनन् । त्यसैले ‘नयाँ पार्टी’ भन्नाले ठ्याक्कै कुन पक्षलाई संकेत गरिएको हो भन्ने कुरा प्रधानमन्त्रीको प्रत्यक्ष स्पष्टीकरणबिना निष्कर्षका रूपमा भन्न सकिने अवस्था छैन।

तर टिप्पणीको समय र सन्दर्भ भने महत्वपूर्ण देखिन्छ । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनमा थापाले प्रधानमन्त्रीको संसद् उपस्थितिमाथि प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिसँग संवाद नगरेसम्म संसद्लाई खुला र जनताप्रति उत्तरदायी थलो मान्न नसकिने बताएका थिए । सोही कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले शेरबहादुर देउवा फकाउनेतिर नलाग्न गगनका लागि खुला सुझाव समेत दिएका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री शाहले महाधिवेशनस्थल खुलामञ्चलाई जोड्दै कांग्रेसलाई ‘नयाँ पार्टी’ का रूपमा व्यंग्य गरेका हुन् । बालेनको टिप्पणीपछि कांग्रेस नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ । कांग्रेस नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्रीको स्टाटसमै टिप्पणी गर्दै ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ’ भन्दै व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । उनी गगन निकटका नेता हुन ।

प्रधानमन्त्रीको पछिल्लो टिप्पणीले भने कांग्रेसको विशेष महाधिवेशन, त्यसबाट बनेको नयाँ नेतृत्व र पुरानो नेतृत्वबीचको विवादलाई राजनीतिक बहसको अर्को तहमा पुर्‍याएको छ । अदालतमा कांग्रेससम्बन्धी विवाद विचाराधीन रहेका बेला प्रधानमन्त्रीबाट आएको ‘नयाँ पार्टी’ भन्ने शब्दले उक्त विवादमा उनको राजनीतिक दृष्टिकोणबारे समेत प्रश्न उठाएको छ ।

अबको राजनीतिक ध्रुवीकरण बढ्दै जाँदा गगन थापा र रवि लामिछानेहरू एकतातिर र केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र बालेन शाहहरू एकातिर हुने भविष्यवाणी गर्नेहरूका लागि भने यो टिप्पणीले थप स्पेस प्रदान गरेको छ ।

प्रकाशित मिति : October 4, 2026 at 10:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/