१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

बुटवलमा एआरई जीपी रेसिङ क्वालिफायर्स, १६० सीसीका तीन राइडर फाइनलमा

१८ असोज, काठमाडौं । जगदम्बा मोटर्स प्रालिले बुटवलमा अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्सको चरण सम्पन्न गरेको छ । तिलोत्तमा–५, कफी कम्पनी, मणिग्रामस्थित गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित प्रतियोगिता बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा आयोजना गरिएको हो ।

क्वालिफायर्समा बुटवल क्षेत्रका उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीको संख्या ७६ पुगेपछि दर्ता प्रक्रिया रोक्नुपरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई पूर्व एआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो । प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस सञ्चालन गरिएको थियो । उक्त प्रतिस्पर्धामा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने । अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने ।

यी तीनै राइडरले एआरई जीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन् ।

बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा प्राप्त सहभागिता र प्रतिक्रियाले क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको बढ्दो रुचि देखाएको बताए । उनले धेरै सहभागी यसअघि ट्र्याकमा नउत्रिएका भए पनि राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर प्रतिस्पर्धामा सहभागी भएको उल्लेख गरे ।

एआरई जीपीको ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गमा प्रथम हुने विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । त्यहाँ ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ । यात्रासहित आवासको खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी भारतले व्यहोर्ने बताइएको छ ।

जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास गर्ने उद्देश्यले एआरई कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत वर्षभरि तीन चरणमा अपाचे ट्र्याक एक्सपेरियन्स, अपाचे रेसिङ क्वालिफायर्स र एआरई जीपी ग्रान्ड फिनाले आयोजना गरिन्छ ।

अपाचे रेसिङ क्वालिफायर्स काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा सञ्चालन हुँदै आएको छ । यसमार्फत छनोट भएका उत्कृष्ट राइडरलाई राष्ट्रिय प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय रेसिङसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

प्रकाशित मिति : October 4, 2026 at 2:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/