१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

नेपालमा पहिलोपटक ई–कमर्समा एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार हुने

१६ असोज, काठमाडौं। एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक ई–कमर्समार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यवसायीले अब एप्पल पे र गुगल पेमार्फत भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी लिन सक्ने भएका छन्।

बैंकका अनुसार यो सुविधा साइबरसोर्स पेमेन्ट गेटवेमार्फत उपलब्ध गराइएको हो। साइबरसोर्सले एप्पल पे र गुगल पेसहित विभिन्न डिजिटल भुक्तानी माध्यमलाई आफ्नो भुक्तानी प्रणालीमा समर्थन गर्दै आएको छ। एप्पल पे र गुगल पे मोबाइलमा आधारित डिजिटल भुक्तानी माध्यम हुन्। यी सेवामार्फत प्रयोगकर्ताले आफ्नो कार्डको विवरण मोबाइलमा सुरक्षित तथा टोकनाइज गरी भौतिक कार्डको विवरण पटक–पटक प्रविष्ट नगरी भुक्तानी गर्न सक्छन्। साइबरसोर्सका अनुसार डिजिटल वालेटमा नेटवर्क टोकनाइजेसन प्रयोग हुने भएकाले भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन सहयोग पुग्छ।

नयाँ सुविधाबाट विशेषगरी होटल, पर्यटन तथा आतिथ्य सेवा, ट्राभल तथा टुर, हवाई सेवा, ई–कमर्स र सूचना प्रविधिसँग सम्बन्धित व्यवसायले विदेशमा रहेका ग्राहकबाट भुक्तानी लिन सहज हुने बैंकले जनाएको छ। बैंकका अनुसार अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरी सञ्चालन भइरहेका नेपाली व्यवसायले विश्वव्यापी रूपमा प्रयोग भइरहेका एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्न सक्ने भएकाले ग्राहकको भुक्तानी अनुभव थप सहज हुने अपेक्षा गरिएको छ।

यसले नेपालका व्यवसायलाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीसँग जोड्न तथा विदेशी ग्राहकबाट हुने भुक्तानीलाई सहज बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ। विशेषगरी पर्यटन, आतिथ्य, यात्रा, ई–कमर्स तथा अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्ने व्यवसायका लागि यस्तो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ।

नेपालमा डिजिटल भुक्तानीको प्रयोग विस्तार भइरहेका बेला अन्तर्राष्ट्रिय रूपमा प्रचलित डिजिटल वालेटलाई नेपाली ई–कमर्स पेमेन्ट गेटवेसँग जोडिनुले अन्तर्राष्ट्रिय ग्राहकबाट हुने अनलाइन भुक्तानीको पहुँच थप विस्तार गर्ने बैंकको अपेक्षा छ।

प्रकाशित मिति : October 2, 2026 at 4:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/