आईसीएफसी फाइनान्सको साधारणसभाबाट १०.५२६३ प्रतिशत नगद लाभांश पारित
१५ असोज, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो। साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुने १२ करोड ४५ लाख ४५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। उक्त नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूसमेत छलफल गरी स्वीकृत गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ। कम्पनीको लेखापरीक्षण समितिको सिफारिसअनुसार एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई भ्याटबाहेक ८ लाख ८० हजार रुपैयाँ लेखापरीक्षण शुल्क प्रदान गर्ने गरी बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भएको छ।
प्रकाशित मिति : October 1, 2026 at 10:22 am




