सरकारले भन्योः चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरेर सुरक्षा दिइएको हो
१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ ।सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ उनले राणाको परिवारले सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन दिएको भन्दै यसबारे सबै कुरा प्रस्ट भइसकेको बताए । नियन्त्रण वा गिरफ्तारी भने नभएको उनको भनाइ छ । ‘त्यो कुराको पुष्टि उहाँहरूले नै सुरक्षा माग गरेर पत्र दिनुभएको छ, त्यसले नै देखाउँछ,’ पोखरेलले भने ।
उनले जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार, पूर्व प्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको थियो । मन्त्री पोखरेलले उक्त थ्रेट ‘जेनजी’ बाट आएको भन्ने कुरा सरकारले नभनेको पनि स्पष्ट पारे। ‘उहाँको फोनमा टेक्स्टमार्फत सुरक्षा थ्रेट आएको थियो, जेनजीबाट होइन,’ उनले भने।
प्रकाशित मिति : September 29, 2026 at 5:26 pm




