भोटेकोशी बाढीः पाँच लाखसम्मको दावीमा सर्भेयर नचाहिने, बीमाकाे ५० प्रतिशत रकम अग्रिम दिनुपर्ने
१३ असोज, काठमाडौं । गत भदौ १० गते लेहेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट पीडित भएका बीमितहरूले अब झन्झटरहित ढंगले छिटो बीमा दाबी भुक्तानी पाउने भएका छन्।
रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा बीमित सम्पत्ति, सवारीसाधन, जलविद्युत् आयोजना, व्यापारिक मौज्दात तथा मानवीय क्षति व्यहोरेका नागरिकलाई लक्षित गर्दै नेपाल बीमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८१’ जारी गरी दाबी प्रक्रियालाई तीव्र बनाएको हो।
प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भएको यस नयाँ कार्यविधिअनुसार सरल प्रकृतिका तथा कुनै प्राविधिक जटिलता नभएका पाँच लाख रुपैयाँसम्मको दाबी फछ्र्यौटका लागि बीमा कम्पनीहरूले बाह्य सर्भेयर खटाउनु पर्ने छैन। यस्तो दाबी कम्पनीहरूले आफ्नै कर्मचारीमार्फत तत्काल स्थलगत निरीक्षण गराएर सिधै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ, जसले साना बीमितलाई महिनौँ कुर्नुपर्ने बाध्यताबाट मुक्ति दिनेछ।
त्यसैगरी, बाढीबाट ठूलो क्षति व्यहोरेका बीमितहरूलाई आर्थिक संकट टार्न सर्भेयरको प्रारम्भिक मूल्याङ्कन वा उपलब्ध प्रमाणका आधारमा अनुमानित दायित्वको ५० प्रतिशतसम्म रकम तत्कालै अग्रिम (पेश्की) दाबी भुक्तानी दिनुपर्ने अनिवार्य व्यवस्था कार्यविधिले गरेको छ। यो व्यवस्था बाढीले बगाएर पूर्ण रूपमा क्षति भएका सवारीसाधनको हकमा समेत लागू हुनेछ। यस्ता सवारीसाधनको हकमा तत्कालै प्रचलित बजार मूल्य वा बीमांक रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिएर बाँकी रकम दर्ता खारेजीको प्रमाणपत्र पेस गरेको सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ।

बाढीका कारण धेरै बीमितहरूको भौतिक कागजात नष्ट भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधिमा विशेष लचकता अपनाइएको छ । भौतिक निरीक्षण सम्भव नभएका स्थानमा क्षति हुनुअघि र पछिका फोटो, भिडियो, डिजिटल अभिलेख, सरकारी वा वित्तीय विवरण र करसम्बन्धी अभिलेखलाई विश्वसनीय आधार मानी क्षति मूल्याङ्कन गर्न सकिने व्यवस्था गरिएको छ । कागजात नष्ट भएकै कारण वास्तविक क्षति पुगेका बीमितको दाबी नरोकिने गरी व्यवस्थित गरिएको छ । त्यस्तै, सामान्य हदम्याद नाघेको वा प्रहरी प्रतिवेदन नभएको आधारमा मात्रै दाबी अस्वीकार गर्न नपाइने व्यवस्थाले पीडितहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
बाढीमा परी बेपत्ता भएका व्यक्तिका हकमा घटनामा मृत्यु भएको पुष्टि हुने आधिकारिक निकायको सिफारिसका आधारमा उनका नजिकका हकवालालाई दाबी रकम उपलब्ध गराइनेछ भने मृतक विदेशी नागरिक भएमा सम्बन्धित देशको दूतावासमार्फत नेपाली रुपैयाँमै क्षतिपूर्ति भुक्तानी दिइनेछ। बीमकहरूमा तरलताको चाप नपरोस् भनेर पुनर्बीमा कम्पनीहरूले समेत प्रारम्भिक प्रतिवेदनका आधारमा अनुमानित दायित्वको ५० प्रतिशत अग्रिम शोधभर्ना बीमा कम्पनीहरूलाई तत्काल दिनुपर्ने व्यवस्था गरिएको छ।
भन्सार यार्ड, बाटो वा गोदाममा रहेका वा दर्ता भइनसकेका आयातित सवारी साधनको हकमा सवारीको ‘भिन’ (VIN) नम्बर अभिलेख गरी भविष्यमा दर्ता नहुने सुनिश्चित गरेर पूर्ण दाबी भुक्तानी गरिनेछ। बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा अधिकारप्राप्त निकायको सिफारिस र हकवालाको स्वघोषणा तथा कबुलियत नामाका आधारमा दाबी भुक्तानी हुनेछ। विदेशी नागरिकको मृत्यु भएको अवस्थामा सम्बन्धित देशको दूतावासमार्फत कानूनबमोजिमको हकवालालाई नेपाली रूपैयाँमा क्षतिपूर्ति भुक्तानी गरिनेछ।

प्रकाशित मिति : September 29, 2026 at 3:30 pm




