सरकारले तिर्नुपर्ने ऋण ३० खर्ब नजिक
७ असोज, काठमाडौं । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण पौने ३० खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रूपैयाँ पुगेको छ।
असार मसान्तमा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ थियो। असारको तुलनामा भदौ मसान्तसम्म सार्वजनिक ऋण केही घटेको छ। भदौसम्म सरकारले ६१ अर्ब ५ करोड रूपैयाँ ऋण लिएको छ। यस अवधिमा सावाँ ७० अर्ब १३ करोड रूपैयाँ भुक्तानी गरेको छ।

विनिमय दरमा भएको परिवर्तनका कारण भदौसम्म सार्वजनिक ऋणमा ४३ करोड ६३ लाख रूपैयाँ थप भएको छ। यस महिनासम्म कुल आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड पुगेको छ । आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २०.६३ प्रतिशत र बाह्य ऋण २४.४१ प्रतिशत बराबर छ। कुल सार्वजनिक ऋण जिडिपीको ४५.०५ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। भदौसम्म ६१ अर्ब ५ करोड रूपैयाँ ऋण लिइएको छ। यो वार्षिक लक्ष्यको ९.२८ प्रतिशत हो।सरकारले यस वर्ष ४ खर्ब १० करोड रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। भदौसम्म ५० अर्ब रूपैयाँ उठाइसकेको छ। यो वार्षिक लक्ष्यको १२.२० प्रतिशत हो। बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड रूपैयाँ परिचालन गर्ने लक्ष्य छ।
प्रकाशित मिति : September 23, 2026 at 4:27 pm




