बाढीबाट प्रभावित अटोमोबाइल क्षेत्रको क्षति संकलन गर्दै नाडा, सरकारी निकायसँग समन्वय गर्ने
६ असोज, काठमाडौं । हालै भोटेकोसीमा आएको बाढी तथा डुबानका कारण ठूलो जनधनको क्षति भएपछि नेपालको अटोमोबाइल क्षेत्रमा समेत गम्भीर असर परेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित सदस्य तथा व्यवसायीलाई आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्ने जनाएको छ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेकोप्रति नाडाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बाढीका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी प्राप्त भइरहेको नाडाले जनाएको छ।
नाडाले प्रभावित व्यवसायी तथा सदस्यलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय तथा अन्य सरोकारवाला निकायसँग पहल सुरु गरिसकेको जनाएको छ।
यसै क्रममा बाढी तथा डुबानबाट प्रभावित नाडाका सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको छ। नाडाका अनुसार क्षतिको विवरण संकलन गरी समग्र अवस्थाको अभिलेखीकरण गर्ने र सोही आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गरिनेछ।
नाडाले प्रभावित व्यवसायीबाट क्षतिको विवरण उपलब्ध गराउँदा बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधनको विवरण, हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण समावेश गर्न आग्रह गरेको छ। त्यस्तै, सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति र बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।

त्यसैगरी, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले आग्रह गरेको छ।
नाडाले प्राप्त विवरणका आधारमा बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने जनाएको छ। भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समेत समन्वय गरिने नाडाको भनाइ छ।
बाढीबाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाको योजना छ। अटोमोबाइल क्षेत्रमा परेको समग्र क्षतिको विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गरिने नाडाले जनाएको छ।
यस कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्य व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने तयारीसमेत नाडाले गरेको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को यस कठिन परिस्थितिमा नाडा आफ्ना सदस्य व्यवसायीहरूसँगै रहेको बताउँदै प्रभावित सबै सदस्यलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।
प्रकाशित मिति : September 22, 2026 at 1:26 pm




