५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

वित्तीय अपराध रोक्न सबै निकायको संयुक्त प्रयास आवश्यकः गभर्नर पौडेल

५ असोज,  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय सुशासन कायम राख्न र वित्तीय अपराध नियन्त्रण गर्न राज्यका सबै सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र सूचना आदान–प्रदान अपरिहार्य रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार काठमाडौंमा आयोजना गरेको ‘वित्तीय सुशासन अभिवृद्धिका लागि नियमन, सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायबीच सहकार्य, समन्वय तथा पृष्ठपोषण’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर पौडेलले यस्तो धारणा राखेका हुन् ।

गभर्नर पौडेलले वित्तीय सुशासन नेपाल राष्ट्र बैंक मात्र नभई राज्यका सबै निकायको साझा सरोकारको विषय भएको बताए। एउटै विषयमा समेत विभिन्न निकायको बुझाइ फरक हुन सक्ने भएकाले नियामक, अनुसन्धानकारी र अभियोजनसँग सम्बन्धित निकायबीच नियमित अन्तरक्रिया आवश्यक रहेको उनको भनाइ थियो।

dainiki.com

मुलुकभित्रका स्रोत–साधनको नियन्त्रण र स्वामित्वसँग राज्यसत्तामाथिको पहुँचसमेत जोडिने उल्लेख गर्दै गभर्नर पौडेलले गलत व्यक्ति वा संस्थाको हातमा स्रोत नपुगोस् भन्ने विषयमा राज्यका निकाय सजग हुनुपर्ने बताए।

यसका लागि ‘सिङ्गो सरकारी संयन्त्रको दृष्टिकोण’ अपनाउनुपर्ने उनको धारणा थियो। साझा दिशा तय भएपछि प्रत्येक निकायले आफ्नो कार्यक्षेत्रभित्र रहेर प्रभावकारी रूपमा काम गर्न सक्ने उनले बताए। यस्ता समन्वयात्मक प्रयासले वित्तीय सुशासन कायम गर्नुका साथै सम्पत्ति शुद्धीकरण निवारणमा साझा अवधारणा विकास गरी नेपाललाई ‘ग्रे–लिस्ट’बाट बाहिर निकाल्न सहयोग पुग्ने गभर्नर पौडेलले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : September 21, 2026 at 4:10 pm