३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सीजबीच आवास कर्जा सहकार्य

३१ भदाै, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनीज प्रालि (कर्मा रेसिडेन्सीज) बीच आवास कर्जा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। महाराजगञ्जस्थित कर्मा रेसिडेन्सीजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सीजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डबमोजिम बेस रेटमा अधिकतम ०.२५ प्रतिशतसम्म प्रिमियम थप गरी आवास कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।

यस सहकार्यबाट कर्मा रेसिडेन्सीजको आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ। बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणका आधारमा बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार उपलब्ध हुनेछ। मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) लगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित मिति : September 16, 2026 at 5:34 pm