३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

४५ हजार घुस लिएको आरोपमा सोताङ गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

३१ भदाै, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ्ग राईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्।

उक्त रकम उनले आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। अनुसन्धानका क्रममा उपाध्यक्ष अन्जु नाछिरिङ राईलेआफ्नो पद तथा पदीय जिम्मेवारी बहन गर्ने क्रममा तालिमको प्रशिक्षकको रूपमा काम दिलाएबापत अर्का प्रतिवादी सुनिल नाछिरिङ राईसँगको मिलेमतोमा ४५ हजार रूपैयाँ घुस/रिसवत लिएको आयोगको ठहर छ ।

dainiki.com

उपाध्यक्ष राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ । त्यस्तै, सुनिल नाछिरिङ राईले आमासँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रूपैयाँ घुसबापतको रकम लिई उपाध्यक्षका निमित्त उपलब्ध गराएको र प्रयोगमा ल्याएको आरोपमा उनीविरुद्ध पनि सोही बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : September 16, 2026 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/