एनआईसी एशिया बैंकद्वारा स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग प्रदान
२६ भदाै, काठमाडाैं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत, बर्दिया र जुम्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई विभिन्न सामग्री तथा उपकरण सहयोग गरेको छ।
बैंकले फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामीको उपचारमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ। बैंकका अनुसार ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
भदौ २५ गते आयोजित कार्यक्रममा बैंकका पोखरा सर्कल प्रमुख स्वेता शेरचन तुलाचन र न्युरोड पोखरा शाखा प्रमुख विजय चापागाईंले स्वास्थ्य चौकीका इन्चार्ज दुर्गाबहादुर थापा तथा सम्बन्धित वडाध्यक्ष अच्युत तिवारीलाई संयुक्त रूपमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए।
त्यसैगरी, बर्दियाको बारबर्दिया नगरपालिका–६, जयनगरस्थित श्री अंशुवर्मा माध्यमिक विद्यालयमा अध्ययनरत १ हजार १३ जनाभन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै बैंकले पानी फिल्टर तथा वाटर कूलर जडान गरेको छ। विद्यार्थीलाई स्वच्छ तथा स्वस्थकर पानी उपलब्ध गराउने र पठनपाठ कार्यक्रममा बैंकका नेपालगञ्ज सर्कल प्रमुख अशोककुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्रनका लागि अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
भदौ १७ गते आयोजित कार्यक्रममा बैंकका नेपालगञ्ज सर्कल प्रमुख अशोककुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयका प्रधानाध्यापक पूमराज शर्मालाई उक्त सेवा हस्तान्तरण गरेका थिए।
यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित दुर्गम क्षेत्रको मालिका आधारभूत विद्यालयलाई बैंकले स्मार्ट बोर्ड उपलब्ध गराएको छ। विद्यालयमा अध्ययनरत १११ भन्दा बढी विद्यार्थीलाई डिजिटल प्रविधिमा आधारित आधुनिक शिक्षा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ।
भदौ ८ गते आयोजित कार्यक्रममा बैंकका जुम्ला शाखा प्रमुख कालीबहादुर रोकायले विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका थिए।
बैंकले स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको उपकरण तथा सामग्रीबाट बिरामीको उपचारमा सहजता पुग्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। त्यस्तै, विद्यालयमा गरिएको सहयोगले विद्यार्थीको पठनपाठनलाई सहज बनाउनुका साथै प्रविधिमैत्री तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने बैंकको अपेक्षा छ।
प्रकाशित मिति : September 11, 2026 at 5:20 pm


