सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२६ भदाै, काठमाडाैं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद तोकिएको छ। जिल्ला अदालत काठमाडौंले बिहीबार तामाङसहित प्रतिवादीहरूलाई ठगी तथा संगठित अपराध कसुरमा सजाय निर्धारण गरेको हो। न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते ठगी र संगठित अपराधको कसुर ठहर गरेको थियो। बिहीबार भने प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय तोकेको हो।

उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। अदालतले केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको छ। त्यस्तै सिर्जना शाक्य तामाङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार र लालकाजी गुरुङलाई जनही एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणप्रसाद प्रधान, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ। मीना गुरुङलाई पाँच महिना कैद र चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
प्रकाशित मिति : September 11, 2026 at 12:11 pm


