२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

बाढीबाट क्षतिग्रस्त त्रिभुवन त्रिशुली माविले पायो अस्थायी सिकाइ केन्द्र

२४ भदाै, नुवाकोट । भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको पठनपाठन पुनः सञ्चालनका लागि विदुर नगरपालिकाले अस्थायी स्थान उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८३ भदौ १० गते आएको बाढीले विदुर नगरपालिका वडा नं. १ मा सञ्चालित उक्त विद्यालयको भवन तथा उपभोग गरिरहेको जग्गा जमिनमा पूर्ण क्षति पुऱ्याएको थियो । साविकको स्थानमा विद्यालय पुनः सञ्चालन गर्न सम्भव नरहेकाले विद्यार्थीहरूको नियमित पठनपाठन सुचारु गर्न नगरपालिकाले वैकल्पिक स्थान प्रयोगको अनुमति दिएको हो ।

निर्णयअनुसार विदुर नगरपालिका वडा नं. ९ स्थित डिहीबजारमा रहेको सहरी विकास तथा भवन कार्यालयको जग्गासहितको भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा तथा भवन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र/विद्यालय निर्माण गरिनेछ ।

विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले २०८३ भदौ २१ गते पत्राचार गर्दै विद्यालयलाई सो स्थान प्रयोग गरी अस्थायी पठनपाठन सञ्चालन गर्न अनुमति प्रदान गरेको प्रधानाध्यापक राजेन्द्र दवडाीले बताएका छन ।

प्रकाशित मिति : September 9, 2026 at 7:15 am