वृद्ध दम्पतीलाई बन्धक बनाएर नगद तथा गरगहना चोरी गर्ने पाँच जना पक्राउ
२२ भदाै, रामेछाप । वृद्धवृद्धालाई बन्धक बनाएर घरमा चोरी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई बन्धक बनाएर चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
गत भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला नकाबधारी तीन जना घरको ढोका फुटाएर प्रवेश गरेका थिए। उनीहरूले दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी बाँधी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। त्यसपछि घरमा रहेको नगद तथा गरगहना लुटेर उनीहरू फरार भएका थिए।

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले डाँका चोरीमा संलग्न रहेको आरोपमा सिन्धुली घ्याङलेख–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दिर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटा बेलाहारा–५ का ३८ वर्षीय गुणराज विश्वकर्मा ‘दिपक’लाई पक्राउ गरेको हो। उनीहरूलाई भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, दुई थान मोटरसाइकल, नागरिकता, राहदानी, बैंकसम्बन्धी कागजात, बुद्धचित्तको माला तथा सुनजस्तो देखिने धातुका औँठी र रिङलगायतका सामान बरामद गरेको जनाएको छ। पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको खातामा रहेको १ लाख ३१ हजार १४ रुपैयाँ समेत अनुसन्धानका क्रममा फेला परेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : September 7, 2026 at 3:57 pm


