२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

साउथ अष्ट्रेलियाको संसदमा नेपालका बाढी पीडित प्रति ऐक्यबद्धता प्रस्ताव पारित

एडिलेड (अष्ट्रेलिया) — साउथ अष्ट्रेलियाको संसदमा नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धताको विशेष प्रस्ताव पारित गरिएको छ।

नेपाल तथा चिनको तिब्बतमा हालै आएको विनाशकारी बाढी र पहिरोका कारण १ हजार १ सयभन्दा बढी नागरिकले ज्यान गुमाएको र हजारौँ अझै बेपत्ता रहेको भन्दै साउथ अष्ट्रेलियाको राज्य संसदले गहिरो शोक व्यक्त गरेको छ।

साउथ अष्ट्रेलियाली संसदमा सांसदहरूले एकसाथ उभिएर प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा स्थानीय समुदायहरूसँग ऐक्यबद्धता जनाएका हुन्।

प्रिमियर पिटर मालिनाउस्कसद्वारा प्रस्तुत उक्त प्रस्तावका क्रममा साउथ अष्ट्रेलियाको सामाजिक, आर्थिक र बहुसांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरिएको छ।

प्रिमियर मालिनाउस्कसले संसदलाई सम्बोधन गर्दै नेपालका बाढीपीडितको तत्कालीन राहतका लागि साउथ अष्ट्रेलिया सरकारका तर्फबाट २ लाख अष्ट्रेलियन डलर (करिब १ करोड ७५ लाख नेपाली रुपैयाँ) मानवीय सहायता उपलब्ध गराइने जानकारी गराउनुभयो।

संसदमा बोल्दै जनप्रतिनिधिहरूले साउथ अष्ट्रेलियाबाट हिमालय क्षेत्रको दूरी धेरै टाढा भए पनि यस्ता दुःखद क्षणहरूले मानवीय संवेदना र भाइचारालाई अझ मजबुत बनाउने बताए।

प्रस्तावमाथिको छलफलमा सांसदहरूले नेपाली समुदायलाई मेहनती, शान्तिप्रिय र समाजप्रति प्रतिबद्ध नागरिकको रूपमा चित्रण गरेका थिए। छलफलका क्रममा नेपालको राष्ट्रिय झण्डाको समेत संसदमा विशेष चर्चा गरिएको थियो। नेपाली झण्डालाई शान्ति, निष्ठा र कडा परिश्रमको प्रतीकका रूपमा जोड्दै सांसदहरूले नेपाली समुदायको अष्ट्रेलियाप्रतिको योगदानलाई उच्च सम्मान व्यक्त गरे।

साउथ अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका नागरिकहरू, उनीहरूका परिवार र विपद्बाट प्रभावित सम्पूर्ण मानिसहरूप्रति संसदले गहिरो दुःख र सहानुभूति प्रकट गरेको छ।

विपद्को यस कठिन समयमा साउथ अष्ट्रेलियाली सरकार र जनता नेपाली समुदायको साथमा शोक, ऐक्यबद्धता र आशाका साथ दृढतापूर्वक उभिने प्रतिबद्धता संसद भवनबाट व्यक्त गरिएको छ।

संसदमा ऐक्यबद्धता प्रस्ताव प्रस्तुत भइरहँदा दर्शकदीर्घामै साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा, पूर्व अवैतनिक महावाणिज्यदूत दीपक धमला सहित नेपालकी चर्चित गायिका रचना रिमालको उपस्थिति रहेको थियो।

यसैगरी एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेन्का अष्ट्रेलियाका उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थिर गुरुङ, हेल्प नेपाल अष्ट्रेलिया अध्यक्ष सन्तोषी गौतम, लेबर पार्टीका नेपाली अगुवा गोविन्द राना, एडिलेड नेपाली समाजका सचिव प्रदिप निरौला, नारी निकुञ्ज अष्ट्रेलिया संयोजक रिज्नु अधिकारी, पाठशाला अध्यक्ष देवेन्द्र खरेल, एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल, पाठशालाका प्राचार्य चन्द्र मणी पाण्डे, फेन्का संयोजक पुष्कर कोइराला लगायत साउथ अष्ट्रेलियामा क्रियाशील नेपाली समुदायका प्रतिनिधि तथा अगुवाहरूको सहभागिता थियो।

नेपालमा परेको प्राकृतिक विपद्को यस कठिन समयमा अष्ट्रेलियाली संसदभित्र नेपाली झण्डा, नेपाली संस्कृति र प्रवासी समुदायको योगदानको प्रशंसा हुनुले नेपाल र साउथ अष्ट्रेलिया बिचको आत्मीय कूटनीतिक एवम् जनस्तरको सम्बन्धलाई अझ उँचो बनाएको सहभागी अगुवाहरूले बताएका छन्।

प्रकाशित मिति : September 4, 2026 at 4:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/