बाढी पिडितका लागि मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग
१७ भदाै, काठमाडाैं। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मञ्जुश्री फाइनान्स लिमिटेडले ३० लाख रुपैयाँ सहयोग गरेको छ। फाइनान्सले गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। यस्तो कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने र प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले सहयोग गरिएको फाइनान्सले जनाएको छ।
मञ्जुश्री फाइनान्सले आफूले प्रदान गरेको सहयोगले विपद् प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। फाइनान्सले प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धारमा खटिएका सबै पक्षप्रति ऐक्यबद्धता जनाएको छ।
प्रकाशित मिति : September 2, 2026 at 10:22 am


