१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

अस्पतालबाटै अपहरणमा परेका नवजात शिशुको उद्धार, महिला पक्राउ

१६ भदौ, काठमाडौं । पर्सामा अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार भएको छ। भदौ १४ गते अपराह्न ४ बजेतिर वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पतालबाट अपहरणमा परेका शिशुको उद्धार भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार दिउँसो १ बजे उद्धार गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए। सुत्केरी कुरुवा कोठामा रहेकी आफन्तसँग खेलाउँछु भन्दै शिशुलाई लिएर गएकी महिलाले त्यहाँबाट आफ्नो घर पुर्‍याएको अनुसन्धानबाट खुलेको छ।

dainiki.com

एसपी भट्टराईले सूचना प्राप्त लगत्तै सीमावर्ती नाकाहरूमा सुक्ष्म निगरानी अघि बढाएको थियो। साथै, अस्पताल भित्र र बाहिरको सिसिटिभी फुटेज जाँच र विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो।अनुसन्धान सुरू गरेको १६ घण्टा पछि सोमबार दिउँसो १ बजे वीरगन्ज महानगर-१६ बस्ने २७ वर्षीया सबिना खातुनसँग भेटिएको थियो।

एसपी भट्टराई स्वयं घटनास्थलमा पुगेर शिशुको उद्धार गरेको प्रहरीले जनाएको छ। कोठाबाट शिशुको उद्धार गरी खातुनलाई पक्राउ गरेको थियो। उद्धारपछि नवजात शिशुलाई आमाको जिम्मा लगाइएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी महिलाले शिशुलाई आफ्नै बनाएर राख्ने उद्देश्यले अस्पतालबाट लगेको देखिएको एसपी भट्टराईले बताए ।

प्रकाशित मिति : September 1, 2026 at 12:28 pm