रसुवा बाढी पिडितको सम्झनामा मंगलबार अष्ट्रेलियाको तास्मानियामा दिप प्रज्वलन हुदै
अष्ट्रेलिया । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउन नेप्लिज इन तास्मानिया (नेपा तास) को आयोजनामा तथा लेनोर्ची सिटी काउन्सिलको सहयोगमा १ सेप्टेम्बर मंगलबार तास्मानियाको होबार्ट स्थित मोन्ट्रोज फोरशोर पार्क, ग्लेनोर्ची मा साँझ ५:३० देखि ६:०० बजेसम्म क्यान्डल लाइट भिजिल आयोजना हुने भएको छ।
कार्यक्रममा लेनोर्ची सिटी काउन्सिलका मेयर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने र उपमेयर, काउन्सिलर्स, सांसद, स्थानीय प्रहरी प्रशासन तथा सरकारी निकायका उच्च पदस्थ प्रतिनिधि तथा अधिकारीहरूको समेत उपस्थिति रहने कार्यक्रम संयोजक अनुप पौडेलले बताउनुभयो। साथै, नेपाली, भारतीयलगायत विभिन्न समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहने छ।
आयोजकका अनुसार यो कार्यक्रम नेपाली समुदायमा मात्र सीमित नभई मानवता, एकता, सहानुभूति र ऐक्यबद्धताको साझा कार्यक्रम हो। त्यसैले तस्मानियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था, भारतीयलगायत अन्य देश तथा समुदायका संघसंस्था, सामाजिक अभियन्ता, स्थानीय नागरिक तथा विभिन्न भाषा, संस्कृति र राष्ट्रियता भएका सबै बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा सहभागी भई नेपालप्रति आफ्नो साथ, समर्थन र ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरिएको छ। “One Candle, One Prayer, One Nepal — Standing Together in Hope” भन्ने भावनासहित आयोजना हुने कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरिने कार्यक्रम संयोजक पौडेलले बताउनु भयो ।
प्रकाशित मिति : August 31, 2026 at 4:07 pm



