बागमतीका मुख्यमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?
१४ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरूबीच च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो।
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् । यसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा उनले दुःख व्यक्त गरे ।

प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएको, तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको, प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्याउन असहज देखिएको उनको भनाइ थियो।
खोला किनारका बस्ती स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढंगबाट काम गर्नुपर्ने पनि उनले बताए। सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए। ‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ। संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाउँछौं,’ उनले भनेका थिए।
प्रकाशित मिति : August 30, 2026 at 4:59 pm



