१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

प्रवासी नेपाली मञ्चद्वारा बाढी-पहिरो पीडितका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ — रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको  विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएका नागरिकहरूको तत्काल राहत तथा सहयोगका लागि प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मञ्च अध्यक्ष रमेश पाण्डेले सचिवालयको आकस्मिक बैठकले अन्तर्राष्ट्रिय कमिटीको केन्द्रीय कोषबाट उक्त रकम तत्काल राहत कार्यमा परिचालन गर्ने निर्णय गरेको बताउनुभयो।

मञ्चका अध्यक्ष पाण्डेका अनुसार उक्त सहयोग रकम बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकहरूको आवश्यकतालाई ध्यानमा राखी पारदर्शी, न्यायोचित र प्रभावकारी रूपमा वितरण गरिनेछ। यसका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय संयन्त्रसँग आवश्यक समन्वय गरिनेछ।

जारी विज्ञप्तिअनुसार , मञ्चले “नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान” विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेशीय तथा राष्ट्रिय कमिटीहरू, नेपाली व्यवसायी, सामाजिक संघसंस्था तथा आम प्रवासी नेपालीहरूलाई आर्थिक सहयोग संकलनमा जुट्न अपिल गरिएको छ।

मञ्चले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरी यो कठिन घडीमा ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरेको छ।

विगतदेखि नै विपद्का समयमा सहयोग गर्दै आएको मञ्चले यसअघि कोभिड-१९ महामारीका बेला पोखरास्थित गण्डकी अस्पतालमा ३ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो। साथै जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा १ करोड रुपैयाँको लागतमा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिसकेको छ।

प्रकाशित मिति : August 29, 2026 at 4:12 am