११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सानिमा बैंकको लाभांश घोषणा

११ भदाै, काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेको बैंकको खुद नाफा पनि गत वर्ष उल्लेख्य बढेको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ ।

हाल कायम १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता साधारण सेयर पुँजीका आधारमा बैंकले १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।त्यस्तै, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसबापत ५ करोड २४ लाख ३८ हजार रुपैयाँ वितरण हुनेछ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको २ अर्ब ५७ करोड रुपैयाँको तुलनामा नाफा ३८.०१ प्रतिशतले बढेको हो ।नियमनकारी समायोजनपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो ।

हाल बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ। अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ छ। सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : August 27, 2026 at 5:49 pm