भ्रामक प्रचारमा प्राधिकरणको कडाइ, ‘डबल मनि, फिक्स डिपोजिट’ योजनासहित प्रतिफलै तोकेर प्रचार गर्न नपाइने
९ भदाै, काठमाडाैं । अब जीवन तथा लघु जीवन बीमा कम्पनीहरूले निश्चित प्रतिफल तोकेर जीवन बीमा पोलिसीको प्रचार प्रसार गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले भ्रामक प्रचारप्रसार नियन्त्रण गर्ने सम्बन्धमा परिपत्र जारी गर्दै ‘फिक्स्ड डिपोजिट’, ‘ब्याज आउने योजना’ वा ‘डबल मनी’ जस्ता शब्द प्रयोग गरेर बिक्री नगर्न निर्देशन दिएको हाे।
प्राधिकरणले बीमा निक्षेप वा लगानी योजना नभई आर्थिक जोखिमबाट सुरक्षा दिने वित्तीय सेवा भएकाले ग्राहकलाई झुक्याएर पोलिसी बिक्री गर्न नपाइने स्पष्ट पारेको हो। नयाँ व्यवस्थाअनुसार अभिकर्ताले बीमालेखमा उल्लेख नभएको निश्चित बोनस, प्रतिफल वा रकम प्राप्त हुने आश्वासन दिन पाउने छैनन्।
बीमा योजना बिक्री गर्दा लाभ, जोखिम, शुल्क र सर्तबारे ग्राहकलाई स्पष्ट र तथ्यपरक जानकारी दिनुपर्नेछ। त्यस्तै, कम्पनीबाट स्वीकृत प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचार गर्न पनि पाउने छैनन्।

बीमा प्रस्ताव पेश गर्दा बीमा योजनालाई निक्षेप वा फिक्स डिपोजीट होइन भन्ने विषय स्पष्ट रूपमा बुझाउनुपर्ने पनि प्राधिकरणको भनाइ छ । बीमालेखको बिक्री गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमा उद्देश्यलाई ध्यानमा राखी उपयुक्त बीमा योजना सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
कम्पनीले अभिकर्ताको बिक्री सामग्रीको परीक्षण, ग्राहक गुनासोको विश्लेषण तथा सम्बोधन गर्ने र सामाजिक सञ्जालमार्फत गरेको बीमा प्रचारप्रसारको नियमित अनुगमनको व्यवस्था मिलाउनु पर्नेमा पनि परिपत्र गरिएको छ ।
यसैगरी मिस सेलिङ सम्बन्धी गुनासोको छुट्टै अभिलेख राखी त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाही सम्बन्धी विवरण प्रत्येक त्रैमासमा नियमित रूपमा प्राधिकरणमा पेश गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ ।


प्रकाशित मिति : August 25, 2026 at 3:06 pm


