९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

नाडा अटो शो सुरुः उपराष्ट्रपति यादवले गरे उद्घाटन, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

९ भदौ, काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसाय यादवले उद्घाटन गरे ।

दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् । नाडाले आफ्नो ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्न आग्रह गरे ।

dainiki.com

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए । उनका अनुसार बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

श्रेष्ठले अर्थतन्त्रलाई पुनः संरचना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए । आगामी १० वर्षपछि जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताए। उनका अनुसार नाडाको ५० वर्षको इतिहासमा नेपालमा गाडीको बिक्री, खरिद तथा सर्भिसिङ मात्रै होइन, पार्टपुर्जा आपूर्तिदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन् ।

प्रकाशित मिति : August 25, 2026 at 12:05 pm