निजी क्षेत्रप्रति अविश्वास र शंकाले देशमा आर्थिक विकास हुँदैनः अन्जन श्रेष्ठ
७ भदाै, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले गरेको कार्यक्रममा बाेल्दै उनले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको बताए ।
श्रेष्ठले राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै आएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले भने निजी क्षेत्र र युवालाई झनै त्रसित बनाएको बताए । ‘समस्या धेरै छन्, तर सबैभन्दा पहिला निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ। निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्छ,’ उनले भने, ‘अहिले व्यवसायीको कन्फिडेन्स इतिहासकै न्यून अवस्थामा छ। त्यसैले सबैभन्दा पहिले ट्रस्ट बिल्डअप गर्नुपर्छ।’

सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगिकीकरणको नीति बनाउन नहुने श्रेष्ठले बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्नसक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो मानसिकताले देशमा औद्योगीकरण हुननसक्ने बताए ।
‘सरकारले केही उद्योग सञ्चालन गर्न खोजिरहेको छ, त्यसलाई म गलत भन्दिनँ । सरकारले मेसेज पनि दिन खोजेको होला । तर एउटा उद्योगका लागि मात्रै सोचेर भएन । हेटौंडा कपडा उद्योग चल्यो, अब व्यापारीहरूले यसलाई आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने किसिमको मानसिकता किन लिने, मन्त्रीज्यूलाई मेरो सुझाव छ-त्यसका लागि डराउनै पर्दैन, नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ । नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,’ उनले भने ।
उनले निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने बताए । श्रेष्ठले सरकार आफैंले उद्योग सञ्चालन गर्दा पनि निजी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति ल्याउनुपर्ने बताए ।
प्रकाशित मिति : August 23, 2026 at 4:39 pm


