सम्बन्धविच्छेद प्रमाणपत्रका लागि सेवाग्राहीसँग घुस लिने वडा सचिवविरुद्ध मुद्दा
५ भदौ, काठमाडौं । सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा शाहविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले वडा सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै नियतवश ढिलासुस्ती गरेको आयोगको निष्कर्ष छ । दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएको भन्दै बिगो १० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
प्रकाशित मिति : August 21, 2026 at 4:14 pm


