२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

५ लाख घुस लिएको आरोपमा कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम.एस. पालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को कर लेखापरीक्षण तथा कर निर्धारणका क्रममा सेवाग्राहीले पेस गरेका कागजात तथा बिल–बिजक नमिलेको भन्दै दुःख हैरानी दिएका थिए । काम मिलाउन रकम माग गरेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पालले विभिन्न व्यवसायिक तथा औद्योगिक फर्म तथा कम्पनीको लेखापरीक्षण र कर निर्धारणका क्रममा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवमार्फत रकमको बार्गेनिङ गरेको खुलेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी पाललाई ५ लाख रुपैयाँ घुस लिन लगाएको र सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको आरोप यादवमाथि छ ।

अख्तियारले पालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै ५ लाख रुपैयाँ बिगो कायम गरेको छ । उनलाई सोही ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवाना हुन मागदाबी गरिएको छ ।

त्यस्तै, यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ । उनलाई पनि ५ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना हुन मागदाबी गरिएको छ ।

प्रकाशित मिति : August 18, 2026 at 5:02 pm