कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रमको सुविधा
१ भदाै, काठमाडौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।
कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत ग्राहकले योग्य कारोबारको संख्या, कारोबार विवरण र पुरस्कार प्राप्तिको अवस्थासमेत हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था छ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था नियमित रूपमा जाँच गर्न पनि बैंकले आग्रह गरेको छ।
बैंकका अनुसार कार्यक्रमले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकले २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन्।
प्रकाशित मिति : August 17, 2026 at 11:27 am


