३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

वाणिज्य बैंकहरुको नाफा करिब ७० अर्बः अग्रस्थानमा नबिल ,अन्य कुनकाे कति ?

३१ साउन, काठमाडाैं ।  वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा करिब ७० अर्ब खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आवको असार मसान्तसम्म कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

 बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २० वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले असार मसान्तसम्म ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 दोस्रोमा कुमारी बैंक रहेकाे छ । बैंकको नाफा ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएकाे थियो । तेस्रोमा रहेको ग्लोबल आइएमई बैंक रहेकाे छ गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २२.६७ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा नेपाल बैंकले ४ अर्ब ५० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२० प्रतिशत बढी हो ।

प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

सानिमा बैंकको नाफा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै सिटिजन्स बैंकको नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको नाफा १२.८८ प्रतिशतले बढेर २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

हिमालयन बैंकको नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा २३.२६ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशतले घटेर २ अर्ब ८५ करोड २ लाख रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको नाफा २९.५१ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

साथै, माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको नाफा १८ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आवमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफामा रहेको थियाे ।

प्रकाशित मिति : August 16, 2026 at 5:12 pm