स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब ८५ करोड, लाभांश क्षमता कति ?
३१ साउन, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३ अर्ब १ करोड २५ लाख रुपैयाँको तुलनामा ५.३९ प्रतिशतले कम हो ।
बैंककाे खुद ब्याज आम्दानीमा ११.६३ प्रतिशतको गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४६ करोड २३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ३ अर्ब ९४ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ८.९० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंककाे खुद फि तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड २३ लाख रुपैयाँ थियो ।
बैंकको निष्क्रिय कर्जा अनुपात २.०३ प्रतिशत रहेको छ । अघिल्लो असार मसान्तमा १ खर्ब २५ अर्ब ३४ करोड रहेको कुल निक्षेप १७.८३ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ६८ करोड पुगेको छ ।
अघिल्लो वर्ष ७२ अर्ब ५९ करोड रहेको कुल कर्जा लगानी घटेर ६६ अर्ब ३ करोड मा झरेको छ। बैंकको कुल सञ्चित नाफा १ अर्ब ९१ करोड ११ लाख पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ९० करोड ६४ लाखको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।
१० अर्ब ४ करोड २३ लाख चुक्ता पुँजी रहेको बैंकले आफ्ना सेयरधनीहरूलाई १९.०४ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता बनाएको छ । समीक्षा वर्षको शुद्ध वितरणयोग्न नाफाबाट मात्रै भने लाभांश क्षमता १७.७६ प्रतिशत रहने देखिन्छ ।
बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँबाट घटेर २८.४० रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको २१५.८० रुपैयाँबाट बढेर २२५.८० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : August 16, 2026 at 4:43 pm


