३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

४६ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

३१ साउन, काठमाडाैं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको  वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.०४ प्रतिशतले घटेर १० अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंककाे खुद ब्याज आम्दानी १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको थियाे ।

समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी बढेर १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत पुगेको देखिन्छ ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ९५ पैसाबाट बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २८७ रुपैयाँ ७० पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ८.५४ गुणा रहेको छ ।

प्रकाशित मिति : August 16, 2026 at 1:12 pm