नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा २ अर्ब ७४ करोड, प्रतिसेयर आम्दानी कति ?
३१ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफामा ठूलो गिरावट आएको छ । गत आवमा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँको तुलनामा ३६.५९ प्रतिशतले कम हो ।
बैंकको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १४ अर्ब २० करोड २६ लाख रुपैयाँ थियो ।
गत आवमा बैंकले ६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ तुलनामा ४१.५५ प्रतिशतले बढी हो । असार २०८३ सम्म बैंकको कुल निष्क्रिय कर्जा अनुपात ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।
अघिल्लो असारमा ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको बैककाे कुल निक्षेप ११.४९ प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ रहेको कर्जा प्रवाह ०.५७ प्रतिशतको गिरावटसहित ३ खर्ब २१ अर्ब ३४ करोड कायम भएको छ ।
बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख र जगेडा तथा अन्य कोष भने १५.३८ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड ३४ लाख पुगेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.६९ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा झरेको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १९०.४० रुपैयाँबाट बढेर १९७.७१ रुपैयाँ पुगेको छ । बैंकको आधार दर ५.८३ प्रतिशतबाट ४.५३ प्रतिशतमा झरेको छ ।
प्रकाशित मिति : August 16, 2026 at 11:54 am


