घर र सवारी कर्जामा प्रभु बैंकले ल्यायो आकर्षक योजना
२९ साउन, काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र लाग्नेछ। ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।
यो कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्नसमेत प्रयोग गर्न सकिनेछ। बैंकका देशभरका ३०० शाखाबाट यो सुविधा उपलब्ध हुने जनाइएको छ।
त्यस्तै, सवारी साधन कर्जा योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइनेछ। यसमा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।
सवारी कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको दाबी छ। यसले ग्राहकलाई सरल र छिटो प्रक्रियामार्फत सवारी साधन खरिद गर्न सहज हुने बैंकले जनाएको छ।
प्रभु बैंकले ग्राहकलाई सहज, सरल र किफायती ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ। बैंकका अनुसार घर तथा सवारी कर्जा देशभरका सम्पूर्ण शाखाबाट लिन सकिनेछ।
प्रकाशित मिति : August 14, 2026 at 4:08 pm


