२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हाे ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ । जसको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याँदा बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत छ ।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमीसन आम्दानी पनि १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर  ३.९८ प्रतिशत पुगेको छ । बैंकको कर्जा नोक्सानी व्यवस्था पनि ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ छ । बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ कोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेकाे छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८९ पैँसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा पुगेको छ ।

प्रकाशित मिति : August 14, 2026 at 10:21 am