२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

हिमालयन बैंकको नाफा १ अर्ब ४८ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

२९ साउन, काठमाडाैं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०४१.१६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिसम्म १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा १० अर्ब ४५ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १५ करोडबाट घटेर १ अर्ब ६ करोडमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रहेको छ ।

 चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भको आकार २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक रहेको छ ।

बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब ९ अर्बबाट बढेर ३ खर्ब ५१ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह भने २ खर्ब ३० अर्ब रुपैयाँबाट घटेर २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ ।  चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.६० रुपैयाँबाट बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ र तरलता अनुपात ३५.३२ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 14, 2026 at 9:25 am