२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकबारे कानुनी राय लिएरमात्र निर्णय गर्ने

२८ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिक्रिया दिएको छ ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषयबारे आफूलाई जानकारी प्राप्त भएको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकबाट नजिकबाट अनुगमन भइरहेको उल्लेख गरेको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिन छलफलसमेत भइरहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक अवस्थामा छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकको भनाइ छ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको प्रकृति, समयावधि र गम्भीरतालाई आधार बनाएर बैंक सञ्चालनको विषयमा थप छलफल तथा कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले कानुनबमोजिम बैंक सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने स्पष्ट पारेको छ।

यसका लागि बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनसँग सम्बन्धित पक्षसँग आवश्यक समन्वय र छलफल गरिने पनि विज्ञप्तिमा उल्लेख छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थायित्व, सुशासन र नियमित सञ्चालन कायम राख्न आवश्यक नियामकीय कदम चाल्दै आएको जनाएको छ।

प्रकाशित मिति : August 13, 2026 at 4:50 pm