२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कुमारी बैंकको नाफा ७ अर्ब ३८ करोड, वितरणयोग्य मुनाफा कति ?

२७ काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै बैंकले १२ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले ११ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ।  साे अवधिसम्ममा बैंककाे वितरणयाेग्य मुनाफा ७९ कराेड १६ लाख रुपैयाँ रहेकाे छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक थियो । यस्तै लाभांश क्षमता ३.०२ प्रतिशत पुगेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।

प्रकाशित मिति : August 12, 2026 at 10:34 am