स्नो रिभर्सको विद्युत बिक्री आम्दानी शतप्रतिशत बढ्यो, नाफा कति ?
२५ साउन, काठमाडाैं । स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
कम्पनीले समीक्षा अवधिमा ११ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४१.५० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको खुद नाफा ३ करोड २७ लाखमा सीमित थियो ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ३८ लाखबाट बढेर ६७ लाख २९ हजार र वित्तीय खर्च ८ करोड ४० लाखबाट बढेर १३ करोड २६ लाख पुगेको छ । ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.३१ गुणा रहेको छ।
प्रकाशित मिति : August 10, 2026 at 11:42 am



