२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

अशोकका विश्वासपात्र रश्मीका उत्तराधिकारी रमेशका नाममा किन तरङ्गित छ प्रभु बैंक ?

-प्रतिमा ढुंगाना 

२५ साउन, काठमाडौंँ । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्तको समूहले संकटमा पारेको वित्तीय अनुशासन फर्काउन सुमन शर्माको नेतृत्वमा बैंकमा काम भैरहेको छ । तर यही बीचमा एक कर्मचारी रमेश श्रेष्ठको सरूवाको विषयमा केही सञ्चारमाध्यममा रमेशका नाममा मिडिया प्रोपोगाण्डा चले ।

उच्च व्यवस्थापन माथि रमेशको नाममा विभिन्न अभियोग लागेपछि प्रमुख कार्यकारी अधिकृत शर्माले नै विज्ञप्ति जारी गरेर बोले । उनले बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।

उनले विज्ञप्तिमार्फत पर्याप्त तथ्य, प्रमाण वा आधिकारिक पुष्टि बिना प्रकाशित भएका सामग्रीहरू आधारहीन, अतिरञ्जित र भ्रामक रहेको दाबी गर्दै त्यस्ता समाचारले बैंकको संस्थागत प्रतिष्ठा, पदाधिकारीहरूको मान–मर्यादा, सार्वजनिक विश्वास तथा नियामक निकायप्रति अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरे ।

बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता कार्यहरू बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत अभ्यास भएको स्पष्ट पार्यो । यस्ता नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियालाई कुनै आधार वा आधिकारिक पुष्टि बिना नकारात्मक रूपमा प्रस्तुत गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहिता विपरीत हुनेमा बैंकले जोड दियो ।

शर्माले विज्ञप्तिमा केही कर्जाका फाइलमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको स्वीकार गर्दै बैंकले सम्बन्धित मुद्दाहरू अदालतमा विचाराधीन रहेकाले नियामकीय प्रावधानअनुसार आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक निगरानी तथा सुधारात्मक उपायहरू कार्यान्वयन गरिरहेको उल्लेख गर्दै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणालीसहित अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रभु बैंकमा भएको जनताको लगानी केही मिडिया सञ्चालकसँग मिलेर दुरूपयोग गरेका शेरचन यतिखेर फरार रहेका छन भने पन्त प्रहरी हिरासतमा छिन । उनीहरूको बिषयमा अदालतमा तीनवटा मुद्दा विचाराधिन रहेको छ भने एउटा अर्को मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा रहेको मुद्दामा रश्मी पक्राउ परिन भने अशोक फरार रहेका छन ।

बैंकभित्र अशोकका विश्वासपत्र भएर काम गरिरहेकी रश्मी केही कर्जाको फाइलमा प्रहरीले अनुसन्धान सुरू गरे लगत्तै भूमिगत भइन । केही समय प्रहरीको आँखा छल्न सफल भएको उनी एउटा मुद्दामा उच्च अदालत पाटनबाट धरौटीमा छुटेको सात दिन बित्न नपाउँदै अर्को मुद्दामा पक्राउ परिन । उनले अशोकसँग मिलेर बैंकमा गरिरहेको अनियमितताका अन्य विषयमा पनि नेपाल राष्ट्र बैंकको प्रतिवेदनले प्रहरीले विस्तारै अनुसन्धान त गर्ला नै । तर बैंकमा अशोक र रश्मीकै निकट भएर काम गरिरहेका श्रेष्ठ नै रश्मीको उत्ताराधिकारी भएर प्रमुख व्यवसाय अधिकृत थिए । स्रोतका अनुसार ऋणीसँग सेटिङ र बार्गेनिङमा  गर्न थालेपछि रमेश हटाउने निर्णयमा शर्मा पुगेका थिए ।

बैंकमा अशोकले ध्वस्त पारेको सुशासन जगाउन मसिनो ढंगले काम सुरू गरेका शर्माले रमेशबाट समस्या देखेपछि आफ्नो अधिकार प्रयोग गरेर धनगढी सरूवा गरिदिए । प्रमुख कार्यकारी अधिकृतको मनसाय बुझेका रमेशले विगतमा अशोकले हुर्काएका र संरक्षणका गरेका केही अनलाइन मिडिया प्रयोग गरेर बैंक माथि अनेक आरोप लगाउँदै समाचार जस्तै देखिने सामग्रीहरू प्रकाशित गराएर फेसबुकमा डलर खर्च गरेर बुस्ट गर्न लगाए । तर प्रमुख कार्यकारी अधिकृतले प्राप्त अधिकारको प्रयोग गरी गरेको निर्णय कार्यान्वयन गर्न धनगढी हाजिर हुन गए । आफैँले अपमान भयो र गलत निर्णय भयो भन्दै मिडियामा दिएको कोट धनगढी पुगेर खण्डन गरिदिए ।

रमेश नै भन्छन सरूवा सिईओको अधिकार हो 

दैनिकीले प्रभु बैंकले धनगढी पठाएका रमेश श्रेष्ठसँग जिज्ञासा राख्दा उनले सिईओको अधिकार क्षेत्रभित्र नै रहेर आफ्नो सरूवा भएको बताए । यद्यपी उनले सरूवाका नाममा आफूलाई अपमानित गरेको बताए । उनले दैनिकीसँग भने, ‘यसअघि आफूभन्दा जुनिर अधिकृतले तीन प्रदेश हेर्ने गरेका थिए । अहिले मलाई धनगढीमा मात्र सीमित गरिएको छ ।’

रमेशले नेपाल राष्ट्र बैंकले पनि आफ्नो गुनासो सुन्न नचाहेको बताए । दैनिकीले तपाई र राष्ट्र बैंक त कुनै समय आमनेसामन्ने नै भैसक्नुभएको थियो नि हैन रु भन्ने प्रश्न गरेपछि उनले त्यो त हो भन्दै पन्छिने प्रयास गरे । रमेशका विरूद्धमा राष्ट्र बैंकले डलर अपचलनमा कारबाही गरेको थियो । तत्कालिन सेञ्चुरी बैंकका मख्य प्रबन्धक रहेका श्रेष्ठको हेलचेक्र्याइँ र बदनियतका कारण अमेरिकी डलर ५ लाख ८२ हजार २ सय ६७ रुपैयाँ अपचलन भएको भन्दै श्रेष्ठ र पूर्व नायब प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईमाथि राष्ट्र बैंकले कारबाही गरेको थियो ।

रमेशको विगत पनि छैन विवादरहित 

सेञ्चुरी विकास बैंकमा रमेशसँगै काम गरेका पूर्व सहकर्मीहरूका अनुसार उनी विगतमा पनि विवादमा परिरहने पात्र हुन । उनी माथिको डलर अपचलनको आरोप पनि सेञ्चुरीमा हुँदै लागेको हो । त्यतिखेर रमेश माथि रेमिट्यान्स दर्तादेखि बैंक सञ्चालकको निर्वाचनमै हस्तक्षेप गरेको आरोप लागेको पूर्व सहकर्मीहरू बताउँछन । व्यवस्थापन अनुकूल नभएको अवस्थामा कर्मचारीका बीचमा  गुटबन्दी गर्ने र असन्तुष्टि फैलाउने तथा संस्थाभित्र तनाव र विभाजन अवस्था सिर्जना गर्ने गरेका रहेछन ।

उनले पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रभु बैंकका बारेमा अनुसन्धान सुरू गरेपछि एसएसपी शिवराज श्रेष्ठ आफ्नो दाजु भन्दै व्यवस्थापनलाई प्रभावित पार्ने प्रयास गरेका थिए । उनले प्रमुख व्यवसाय अधिकृतको जिम्मेवारी पाउनुको पछिको कारण पनि सोही रहेको बैंकका कतिपय कर्मचारी बताउँछन । कतिपय पत्रकारसँग पनि उनले शिवराज र आफू दाजुभाइ भएको दाबी गर्ने गरेका थिए । यद्यपी उनीहरू दुबै भोजपुरको भए पनि दाजुभाइ नै भने होइनन् ।

अशोक शेरचनले दुरूपयोग गरेर बैंकिङ सुशासन माथि गम्भीर प्रश्न चिन्ह खडा गरिदिएर समस्यामा परिरहेको बैंकलाई कर्मचारीहरूले यो वा त्यो बहानामा प्रोपोगाण्डाको विषय बनाउँदा संस्था झन धराशायी हुन सक्छ । ३७ लाख निक्षेपकर्ताको बचत र ३ हजार २ सय कर्मचारीको भविष्य जोडिएको कारण कमजोरी औँल्याएर सुधारमा प्रेरित गर्नु आजको आवश्यकता हो । अपराधमा संलग्नहरूकै बचाउका लागि बैंक माथि आक्रमण गर्नु राम्रो होइन । बैंकलाई आन्तरिक विवाद र मिडिया प्रोपोगाण्डाको विषय बनाउनुको सट्टा विगतका कमजोरी पहिचान गरी सुशासन र वित्तीय अनुशासन सुधारमा केन्द्रित गराउन सबैले सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : August 10, 2026 at 11:29 am