एनसेलले ल्यायो मनसुन अफर, प्रिपेड ग्राहकलाई प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
२० साउन, काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले मनसुन लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार यो अफर एनसेलका प्रिपेड ग्राहकका लागि सीमित अवधिसम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ।
प्याक एक्टिभेट गरेपछि ग्राहकले एसएमएसमार्फत रिवार्डको सूचना प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ। प्राप्त रिवार्ड ग्राहकले २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ भने जारी भएको मितिले सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार प्रत्येक पटक योग्य प्याक खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो रिवार्ड नगदमा साट्न वा अर्को व्यक्तिलाई हस्तान्तरण गर्न भने मिल्ने छैन। यद्यपि, ग्राहकले विभिन्न खरिदबाट प्राप्त भएका रिवार्ड जम्मा गरेर प्रयोग गर्न सक्नेछन्।
क्यासब्याकको दर प्याकको मूल्यअनुसार निर्धारण गरिएको छ। ५० देखि ९९ रुपैयाँसम्मका प्याकमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मका प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मका प्याकमा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले यस अभियानले ग्राहकलाई थप मूल्य प्रदान गर्नुका साथै एनसेल एपमार्फत उपलब्ध विभिन्न डिजिटल सेवा र साझेदारका विशेष सुविधासँग जोड्ने उद्देश्य राखिएको बताए।
उनका अनुसार कम्पनीले कल र डेटाभन्दा बाहिर पनि डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्राहकलाई सहज सेवा, आकर्षक साझेदारी र विभिन्न रिवार्ड कार्यक्रममार्फत थप लाभ उपलब्ध गराउने रणनीति अघि बढाएको छ।
प्रकाशित मिति : August 5, 2026 at 3:44 pm



