एभरेष्ट बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?
२० साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख ५९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब १० करोड २३ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्न सक्ने बलियो क्षमता बनाएको छ। गत असार मसान्तसम्ममा बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। बैंकले सेयरधनीलाई ३८.३२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आवको अन्त्यमा निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशत रहेकामा सामान्य बढेर ०.४९ प्रतिशत पुगेको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३७.३९ रुपैयाँबाट घटेर ३६.९५ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ भने सीडी रेसियो ७७.५७ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : August 5, 2026 at 10:45 am



