२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एडिलेडमा अटिजमसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, विज्ञहरूद्वारा विशेष परामर्श

एडिलेड — एनआरएनए युथ फोरमल साउथ अष्ट्रेलियाले नेपाली पाठशाला एडिलेड संगको सहकार्यमा ‘अटिजम सचेतना कार्यक्रम (Autism Awareness Programme)’ सम्पन्न गरेको छ ।

स्थानिय चार्ल्स क्याम्पबेल कलेजको सभा हलमा आयोजित अटिजमबारे समुदायमा सचेतना फैलाउने, अनुभव आदानप्रदान गर्ने र प्रभावकारी जानकारी दिने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम अत्यन्तै फलदायी र अर्थपूर्ण रहेको एनआरएनए  युथ फोरम साउथ अष्ट्रेलिया संयोजक संगम पाण्डेले जनाउनु भएको छ ।

कार्यक्रममाविज्ञहरूद्वारा महत्त्वपूर्ण जानकारी तथा अनुभव प्रस्तुत गरिएको थियो । स्वास्थ्य, शिक्षा र सामाजिक परामर्श क्षेत्रका विशेषज्ञहरूले अटिजमसम्बन्धी आ-आफ्ना अनुभव तथा दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो

‘पोजिटिभ स्पेस अलाइड हेल्थ’का निर्देशक, थेराप्युटिक सोसियल वर्कर तथा अटिजम कन्सल्टेन्ट विक्रम योगीले कार्यक्रमको सहजीकरण गर्दै बालबालिका र उनीहरूका परिवारसँग काम गर्दाका व्यावहारिक अनुभवहरू बाँड्नुभएको थियो।

यसैगरी अक्सफोर्ड स्पेसलिस्ट सेन्टरका बालरोग विशेषज्ञ (Paediatrician) डा. सन्तोष पाठकले अटिजमसम्बन्धी चिकित्सा क्षेत्रका महत्त्वपूर्ण तथ्यहरू प्रस्तुत गर्दै स्वास्थ्य दृष्टिकोणबारे सहभागीहरूलाई प्रस्ट पार्नुभयो।

फेन्का अष्ट्रेलियाका उपाध्यक्ष कपिल पाण्डे समेत रहनु भएका एडिलेडमा १७ वर्षभन्दा बढी शिक्षण अनुभव हासिल गर्नुभएका शिक्षक कपिल पाण्डेले शैक्षिक क्षेत्रका अनुभव र विद्यालयको वातावरणमा अटिजम भएका बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे व्यावहारिक मार्गदर्शन दिनुभयो।

यस्तै, कार्यक्रममा नेपाली समुदायकै अभिभावकले अटिजम भएका आफ्ना सन्तानको हेरचाह गर्दाका व्यक्तिगत अनुभव र जीवनयात्रा सुनाउनुभएको थियो, जसले सहभागीहरूलाई निकै भावुक र प्रेरित बनाएको थियो।

एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले नेपाली समुदायका लागि निकै जरुरी बिषयमा छलफल तथा विज्ञहरुले परामर्श दिने जस्तो कार्यक्रमका सहजकर्ता तथा सहभागीहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

नेपाली समुदायभित्र अटिजम प्रभावित परिवारहरूका लागि चेतना, बुझाइ र सहयोगको वातावरण तयार गर्न यस्ता कार्यक्रमले दीर्घकालीन भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : August 5, 2026 at 10:19 am