भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह
१९ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकका अनुसार बैंकभित्र कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया सञ्चालन तथा वित्तीय विवरणसम्बन्धी सूचना प्रकाशनलगायतका कार्यहरू बैंकिङ व्यवसायको नियमित तथा कानुनसम्मत प्रशासनिक प्रक्रिया हुन्। यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरी सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्नु तथ्यपरक पत्रकारिताको मर्म, व्यावसायिक आचारसंहिता र जिम्मेवार सञ्चार अभ्यासअनुकूल नहुने बैंकको धारणा छ।
बैंकले विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा अख्तियारप्राप्त निकायबाट अनुसन्धान भई सम्बन्धित मुद्दाहरू अदालतमा विचाराधीन रहेको जनाएको छ। बैंकका अनुसार त्यस्ता विषयमा प्रचलित कानुनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणालीसहित निरन्तर प्रतिबद्ध रहेको बैंकले जनाएको छ।
त्यस्तै, बैंकको सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डबमोजिम नै हुने बैंकले स्पष्ट पारेको छ। बैंकले आगामी दिनमा पनि नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
बैंकले सञ्चारमाध्यममा कुनै सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि त्यसको सत्यता, तथ्यपरकता र विश्वसनीयता परीक्षण गरी सम्बन्धित पक्षबाट आवश्यक पुष्टि गर्न आग्रह गरेको छ। अपुष्ट वा आधारहीन समाचारले सम्बन्धित संस्था तथा व्यक्तिको प्रतिष्ठा, सार्वजनिक विश्वास र समग्र वित्तीय प्रणालीप्रति नकारात्मक धारणा सिर्जना गर्न सक्ने भन्दै बैंकले व्यावसायिक संवेदनशीलता, निष्पक्षता र तथ्यपरकताका साथ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रकाशित मिति : August 4, 2026 at 10:49 am



