१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सडक डिभिजन भक्तपुरका इन्जिनियर शैलेन्द्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले पदको दुरुपयोग गरी आफ्नो र परिवारको नाममा अस्वाभाविक रूपमा सम्पत्ति जोडेको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हाे । आयोगका अनुसार, इन्जिनियर चौधरीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ देखि २०८२ असार २९ गतेसम्मको जाँच अवधिमा कुल २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ मात्रै वैध आम्दानी गरेको देखिन्छ । तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर लगानी र विलासिताका वस्तुहरूमा कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

dainiki.com

यसरी उनको वैध आयको तुलनामा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको खर्च र लगानीको स्रोत नखुलेको अख्तियारको ठहर छ । अख्तियारले चौधरीले आर्जन गरेको गैरकानुनी सम्पत्ति पत्नी अर्पना कुमारीको नाममा समेत राखेको फेला पारेको छ ।  अख्तियारले इन्जिनियर शैलेन्द्र र उनकी श्रीमती अर्पना कुमारी दुवैलाई प्रतिवादी बनाएको छ। आयोगले इन्जिनियर चौधरीसँग २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति : July 29, 2026 at 1:42 pm