१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने कैलालीका सन्दीप सिंह पक्राउ

१० साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको परीक्षामा प्रश्नपत्र  सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सीआईबीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमजीटी ५१५ (Organizational Behavior) विषयको परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समूहमा साझा गर्दै ‘शिक्षा एप–२०२८’ मार्फत परीक्षाको गोपनीयता भंग गरी कसुर गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बस्ने २३ वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन् ।

उनीलाई साउन ८ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै, प्रश्नपत्र चुहावट वा परीक्षाको गोपनीयता भंग गर्ने कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : July 26, 2026 at 8:31 pm